
काठमाडौँ । काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–८ चारसयबेशी र रोशी–१२ माम्ती क्षेत्रमा सुख्खा पहिरो खस्दा बिपी राजमार्ग तीन दिनदेखि ठप्प भएको छ। गत बिहीबारदेखि परेको वर्षाले लगातार पहिरो झरिरहेकाले यातायात आवागमन रोकिएको हो ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार उक्त सडकखण्डमा अहिले वैकल्पिक बाटो (डाइभर्सन) निर्माण कार्य तीव्रगतिमा जारी छ।
राजमार्गका विभिन्न स्थानहरूमा लेदो र ढुंगा पन्छ्याइएको भए पनि चारसयबेशी क्षेत्रमा सुख्खा पहिरो नरोकिएको प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सो स्थानमा वैकल्पिक बाटो बनाउन सक्दो प्रयास भइरहेको उनले बताए।
वर्षाले चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतका स्थानमा ढुङ्गा र लेदो सहितको पहिरो खसेर सडक पूर्णरूपमा बन्द भएको थियो।
त्यस्तै, नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, बोक्सीकुना र माम्ती क्षेत्रमा पनि पहिरो र लेदोका कारण राजमार्ग सञ्चालनमा अवरोध पुगेको बताइएको छ ।
माम्तीको तल्लो भागमा गत असोज महिनामा बाढीले सडक बगाएपछि निर्माण गरिएको डाइभर्सन पनि हालैको लेदो र बाढीका कारण पुनः अवरुद्ध भएको छ।
गत वर्ष असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाले बिपी राजमार्गका विभिन्न भागमा क्षति पुर्याएको थियो। त्यसपछिका मर्मत र डाइभर्सन कार्य पूरा गरेर
आवागमन पुनः सुचारु गरिएको भए पनि असोज १८ र १९ गते परेको वर्षाले रोशी खोलामा आएको बाढीले पुनः क्षति पुर्याएको थियो।