काठमाडौँ । बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’को असर क्रमशः कमजोर हुँदै गएसँगै देशभरको मौसममा सुधार देखिन थालेको छ । तर पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना यथावत् रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही भागमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ । यी क्षेत्रहरूमा केही बदली रहने अनुमान गरिएको छ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहनेछ ।
पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव अझै बलियो भएकाले देशका केही भागमा बदली यथावत् रहेको विभागले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहँदा मधेस र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रहरूमा मौसम खुला रहने सम्भावना छ । राति पनि यस्तै मौसमी अवस्था रहने अनुमान गरिएको छ । पहाडी क्षेत्रहरूमा आंशिक बदली र अन्य भागमा मुख्यतया सफा मौसम रहनेछ ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाएको छ ।