वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका ‘कर्मचारी’ हटाउन प्रधानमन्त्री कार्कीको कडा निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा नातावाद, कृपावाद र पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन् ।

पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी प्रधानमन्त्री कार्कीले शुक्रबार सिंहदरबारमा निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई बोलाएर संस्थाभित्र देखिएका बेथिति र आर्थिक अव्यवस्थाप्रति कडा असन्तुष्टि जनाउँदै तत्काल सुधारको निर्देशन दिएकी हुन् ।

‘जुन उद्देश्यका लागि यति ठूलो आन्दोलन र बलिदान भएको हो, त्यो नातावाद र विभेद अन्त्यका लागि हो, तर अहिले पनि आफ्ना मान्छे भर्ती गर्ने क्रम रोकिएको छैन । अवकाशको मुखमा पुग्दा पनि मनपरी भइरहेको छ, यो कस्तो बेथिति हो?’ उनले प्रश्न गरिन् ।

कुनै समय गौरवको प्रतिक रहेको नेपाल वायु सेवा निगम आज गम्भीर आर्थिक संकटमा परेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले कसैको अनुहार नहेरी सुधारका कठोर कदम चाल्न आग्रह गरिन् ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगममा हाल १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित घाटा रहेको जानकारी दिएका थिए । यसै प्रसङ्गमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो संस्था धनाढ्यको बिग्रेको घर जस्तै भएको छ,  हेर्दा सबै छ तर भित्र घाउले भरिएको छ । नाफा छैन, रोजगारीको स्थायित्व पनि छैन ।’

प्रधानमन्त्रीले राजनीतिक दबाब र गैरकानुनी प्रभावमा नपरी विधिसम्मत रूपमा काम गर्न आग्रह गर्दै भनिन्, ‘राम्रो काम गर्दा अख्तियारसँग डराउनुपर्दैन, उल्टै अख्तियारलाई बहाना बनाएर निष्क्रिय बस्नुहुँदैन ।’

उनले निगमका जहाज मर्मतका नाममा भाडाको इन्जिन प्रयोग गरी जनताको पैसा दुरुपयोग गर्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाइन्, ‘यो घाटा जनताले बेहोर्नुपर्ने हो, त्यसैले अब कठोर कदम चाल्नैपर्छ ।’

निजी वायुसेवा कम्पनीहरूले नाफा कमाइरहेका बेला राज्यको स्वामित्वमा रहेको निगम लगातार घाटामा हुनु गम्भीर समस्या भएको उनको भनाइ थियो ।

उनले थपिन्, ‘सरकारले पर्याप्त स्रोतसाधन उपलब्ध गराएको छ, तैपनि सुधार हुन सकेको छैन । बरु यो पैसाले विद्यालय वा अस्पताल बनाएको भए जनतालाई फाइदा हुन्थ्यो ।’

कार्यक्रममा निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले चाँडै देखिने सुधारका कदम चाल्ने प्रतिबद्धता जनाउँदै भने, ‘निगममा बोल्ड र अप्रिय निर्णय लिन तयार छु, सरकारको साथको अपेक्षा गर्दछु ।’

प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्, ‘संस्था सुधारका लागि तपाईँहरू लाग्नुहोस्, सरकार दाहिने हातमा छ ।’

सो कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्यालसहित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी, निगमभित्रका भ्रष्टाचारसम्बन्धी प्रतिवेदन अनुसार तुरुन्त कारबाही गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएकी छिन् ।