काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोहा, कतारमा हुने दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजना हुने सम्मेलनमा भाग लिन आज बिहान कतार प्रस्थान गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा उक्त सम्मेलनमा भाग लिँदैछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई बिदाई गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार आयोजना हुन लागेको यस सम्मेलनको मुख्य सत्रलाई राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ।
उनले सम्मेलनका क्रममा कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस लगायत उच्च व्यक्तित्वहरूसँग भेटवार्ता गर्नेछन्।
सम्मेलनमा विश्वभर व्याप्त विकास असमानता, जनसङ्ख्यागत असन्तुलन, र प्रविधिको समाजमा परेको प्रभाव लगायत विषयमा गहन छलफल हुनेछ। यसअघि, यस्तै सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो।
नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै विश्व शान्ति र स्थायित्वका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष पदमा रहेको छ।
राष्ट्रपति पौडेल कतार भ्रमण सकेर कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।