जेन-जी प्रदर्शनमा प्रहरी कार्यालयबाट लुटिएको हतियार सहित फरार अभियुक्त पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालय सुन्धाराबाट भागी फरार भएका एक युवकलाई प्रहरीले लुटिएको हतियार सहित पक्राउ गरेको छ।काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिका–१ का २२ वर्षीय राजा तामाङ (वाङ्सु लामा) गोकर्णेश्वरबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, मिति २०८२ साल कार्तिक १४ गते साँझ काठमाडौँ महानगरपालिका-७, लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घर बाहिर राखिएको कालो झोलामा ग्यास गनको बट र नाल छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो।

प्रहरीको अनुसन्धानमा उक्त झोला वाङ्सु लामाकै भएको थाहा लागेपछि कर्तिक १४ गते साँझ ५:१५ बजे गोकर्णेश्वर नगरपालिका, माईती नेपाल नजिकैबाट उनलाई पक्राउ गरिएको हो।

सोधपुछका क्रममा उनले उक्त झोला आफैंले सो स्थानमा राखेको स्वीकार गरेका थिए। त्यसपछि प्रहरीले उनको डेरा खानतलासी गर्दा विभिन्न गोलीका ३ थान र अन्य सामाग्रीहरू समेत बरामद गरेको जनाएको छ।

थप अनुसन्धानपछि वाङ्सु लामालाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ।

प्रहरीका अनुसार वाङ्सु लामा यसअघि नै ज्यान मार्ने उद्योग मुद्दामा सम्लग्न भई २०७९ साल असार ७ गते काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार कार्यालय, सुन्धारामा थुनामा रहेका थिए।

तर, भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए । हाल उनलाई पुनः पक्राउ गरी हतियार सम्बन्धी र जेलबाट फरार सम्बन्धी दुई फरक मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।