काठमाडौँ । प्रहरी मुख्यालयले काठमाडौं उपत्यकामा खटिएका तत्कालीन प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ। भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनीका घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसपछि यस्तो परिपत्र जारी गरिएको हो।
मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाई सो अवधिमा जिम्मेवारी सम्हालेका इञ्चार्जहरूलाई उपत्यका बाहिर जान नदिन व्यवस्था मिलाउन आदेश दिएको छ।
जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रका इञ्चार्जहरूलाई कुनै पनि समयमा उपस्थित गराउन सक्ने भन्दै प्रहरी मुख्यालयलाई पत्राचार गरेको थियो । आयोगले आइतबारदेखि सोधपुछ प्रक्रिया सुरु गरेको छ । जसअन्तर्गत पहिलो दिन नख्खु कारागारका जेलरसँग बयान लिएको छ।
उक्त आन्दोलनका क्रममा भदौ २३ गते गोली प्रहारमा परी २२ जनाको मृत्यु भएको थियो।