काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले वर्तमान सरकार वैदेशिक शक्तिद्वारा स्थापित ‘कठपुतली सरकार’ भएको ठहर गरेको छ । हालै काठमाडौँमा सम्पन्न पार्टीको केन्द्रीय समितिको ध्रुवीकरण बैठकले सरकार कठपुतली भएको ठहर गरेको हो ।
पार्टीका प्रवक्ता राजेश्वरी सुवेदीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन । बरु ‘जेनजी विद्रोह’लाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो ।’
पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिको संयोजकत्वमा सम्पन्न बैठकले पार्टीको हालसम्मको राजनीतिक यात्रा, वैचारिक स्पष्टता, तथा आगामी क्रान्तिकारी कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।
विज्ञप्तीमा नयाँ युगको क्रान्तिका लागि ध्रुवीकरणको घोषणा गरिएको छ । बिज्ञप्तीमा भनिएको छ, ‘दलाल संसदीय व्यवस्थाको खास विकल्पका रूपमा नेपाली मौलिकताको वैज्ञानिक समाजवादी शासकीय स्वरूप, संरचना, मोडेल र खाकाको प्रस्ताव तय गरिएको छ । बैठकले तय गरेको वैज्ञानिक समाजवादी कार्यक्रमको प्रस्तावलाई तत्काल देशव्यापी बहसमा लैजाने निर्णय गरेको छ ।’
त्यस्तै, बैठकले आत्मनिर्भर उत्पादन प्रणालीमा आधारित वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिसहित नयाँ युगको कम्युनिस्ट आन्दोलनका लागि समानान्तर अर्थतन्त्र निर्माणको ठोस परियोजना अघि बढाउने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ।
‘जनवादी केन्द्रीयता’को सट्टामा ‘सामुदायिक सार्वभौमिकता’ भन्ने नयाँ संगठनात्मक सिद्धान्त अवलम्बन गर्ने निर्णय गर्नुका साथै, पुरानो कम्युनिस्ट आन्दोलनमा रहेको वैचारिक संकटलाई सम्बोधन गर्दै सच्चा कम्युनिस्टहरूलाई वैचारिक स्पष्टतासहित ध्रुवीकरणको यात्रामा सहभागी हुन विज्ञप्तीमार्फत अपिल समेत गरिएको छ।
बैठकले ‘सर्वहाराकरण’ को सट्टामा ‘कम्युनिस्टकरण’ र ‘सामुदायिकीकरण’ को नीति अघि सारेको बताइएको छ । त्यस्तै, पार्टीका केन्द्रीय सदस्यहरूबीच निजी सम्पत्तिको सामुदायिकीकरणको प्रक्रिया सुरु गर्ने निर्णय गरेको समेत जारी विज्ञप्तीमा उल्लेख छ ।
जेनजी विद्रोहपछि भएको वैदेशिक हस्तक्षेप र राजनीतिक षड्यन्त्रहरूलाई चिन्दै बैठकले नेपाली समाजको रूपान्तरणका लागि वैज्ञानिक विचार र संगठनमा लामबद्ध हुन आह्वान गरेको उल्लेख छ ।
बैठकले पार्टीका प्रबुद्ध समिति संयोजक तथा अग्रणी नेता नन्दन अर्यालप्रति श्रद्धाञ्जली अर्पण गर्दै हालैको जेनजी विद्रोह र विगतका सबै न्यायपूर्ण आन्दोलनका सहिदहरूलाई स्मरण गरेको थियो।
बैठकले जेनजी विद्रोहपश्चात नेपाली समाजमा उत्पन्न राजनीतिक अन्तर्विरोध दलाल संसदीय पुँजीवाद र यथास्थितिवादी प्रवृत्तिले समाधान गर्न नसक्ने ठहर गर्दै सच्चा देशभक्त, क्रान्तिकारी र प्रगतिशील शक्तिहरूलाई नयाँ विद्रोहको दिशामा संगठित हुन आह्वान गरेको छ।
बैठक कात्तिक १२ गते सुरु भर्ई १५ गते काठमाडौंमा सम्पन्न भएको थियो ।




