दोलखाको ‘यलुङ रि’ हिमालमा हिमपहिरो : तीनको मृत्यु, आठ जना बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । दोलखा जिल्लाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी ज्ञानकुमार महतोका अनुसार घटनामा चार जना घाइते भएका छन्।

नेपाली गाइडसहित १५ जनाको आरोहण टोली सोमबार बिहान नाँ गाउँबाट यलुङ रि हिमालतर्फ प्रस्थान गरेको थियो। आरोहणका क्रममा उनीहरू ५ हजार ६ सय ३० मिटर अग्लो शिखर नजिकै पुगेका बेला आकस्मिक रूपमा हिमपहिरो खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेपत्ता र घाइतेहरूको खोजी तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको भए पनि खराब मौसमका कारण उद्धारकार्यमा कठिनाइ आइरहेको छ।

रोल्वालिङ क्षेत्र प्रतिबन्धित उडान क्षेत्र भएकाले प्रशासनको विशेष अनुमति लिएर मात्र हेलिकोप्टर परिचालन गर्न सकिने बताइएको छ। भौगोलिक विकटता र मौसम प्रतिकूलताका कारण प्रहरी टोली अझै घटनास्थल पुग्न नसकेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।