जेन-जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा काठमाडौंसहित देशभर ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राज्यको तर्फबाट ती व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणको मागसहित जेनजी पुस्ताद्वारा आयोजित आन्दोलनका क्रममा निधन भएका ती व्यक्तिहरूलाई सहिदका रूपमा सम्मान गर्न सरकारले निर्णय गरेको हो।

त्यसैगरी, बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको छ।

साथै, विपद् संकटग्रस्त इलाम जिल्लाका प्रभावित क्षेत्रमा सहयोगका लागि पाँच करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।