
काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अघि बढेको पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । एकता प्रक्रिया अघि बढेसँगै माओवादी केन्द्रभित्र गम्भीर असमझदारी देखिएको छ ।
माओवादी केन्द्रभित्र चरम असन्तुष्ट नेताहरूको चर्को आलोचना र नेतृत्व हस्तान्तरणको माग बढ्दै गए गएपछि माओवादी केन्द्र फेरि एकपटक फुटको संघारमा पुग्ने निश्चित देखिन्छ ।
पार्टी स्रोतका अनुसार शर्मा समूहले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता प्रस्तावलाई “वैचारिक अस्पष्टता र पहिचान गुमाउने खतरा” का रूपमा लिएको छ ।
शर्माले एकीकृत समाजवादीसँगको पार्टी एकता “माओवादी आन्दोलनका मूल मूल्य र सिद्धान्तसँग मेल नखाने” दाबी गर्दै एकता प्रक्रियामा सहभागिता जनाउन अस्वीकार गरेका हुन् ।
शर्माले हालै सम्पन्न स्थायी कमिटी बैठकमा समेत असहमति जनाएका थिए । उनले भनेका थिए, “माओवादी आन्दोलनको विचार र पहिचानलाई त्याग्दै बहुदलीय जनवादतिर जानु आत्मसमर्पण हो, एकता होइन।”
उनको यो वक्तव्यपछि प्रचण्ड र शर्माबीचको सम्बन्ध थप चिसिएको बताइन्छ । बैठकमा सहभागी नेताहरुका अनुसार शर्माले नेतृत्वको निर्णयशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए ।
यसैबीच, प्रचण्ड निकट समूहले भने पार्टी एकता “दीर्घकालीन राजनीतिक स्थायित्व र वाम शक्ति सुदृढीकरणका लागि आवश्यक कदम” भएको तर्क प्रस्तुत गरेको छ । उनीहरूले आगामी निर्वाचनमा वाम एकतालाई मुख्य रणनीति बनाउँदै एकीकृत मोर्चा बनाउने तयारी गरिरहेका छन् ।
तर, शर्मा पक्षको असहमतिको कारण पार्टीभित्र वैचारिक विभाजन चर्किने संकेत देखिएको छ । केही नेताहरुले पार्टीको नाम, चिन्ह र नेतृत्व संरचनाका विषयमा स्पष्ट सहमति नहुँदा एकता प्रक्रिया झन् जटिल बन्न सक्ने बताएका छन् ।
माओवादी केन्द्रभित्रको यो मतभेद केवल व्यक्तित्वको टकराव नभएर, विचारधारा र संगठनात्मक स्वरूपबारेको गहिरो असमझदारी भएको राजनीतिक विश्लेषकहरू बतउँछन् ।
प्रचण्ड–नेपालको वाम एकता योजना सफल हुने वा असफल हुने भन्ने निर्धारण अब माओवादी केन्द्रभित्रकै सहमति र असहमतिको स्वरूपले तय गर्ने बताइएको छ ।