रोल्वालिङ हिमपहिरो दुर्घटना : खराब मौसमका कारण उद्धार कार्यमा ढिलाई

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रोल्वालिङ हिम क्षेत्रस्थित यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका आरोहीहरूको उद्धार कार्य खराब मौसमका कारण ढिलो भएको छ। हिजो दिनभर उद्धारको प्रयास गरिए पनि लगातारको खराब मौसमले हेलिकोप्टर उड्न नसकेका कारण उद्धार कार्य ढिलो भएको हो ।

दोलखाका डिएसपी ज्ञानकुमार महतोका अनुसार आज मौसममा केही सुधार आएपछि उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको छ।  एभरेस्ट एयरको हेलिकोप्टर अहिले गाउँमै तयारी अवस्थामा राखिएको र मौसम पूर्ण रूपमा खुलेपछि उद्धार टोली घटनास्थल पुग्ने प्रहरीले जनाएको छ।

यससँगै पैदल उद्धारमा गएको संयुक्त सुरक्षा टोली हाइड्रोपावर कार्यालय नजिक पुगेको र घटनास्थलतर्फ अघि बढिरहेको डिएसपी महतोले बताए। उनका अनुसार, पैदलमार्ग हुँदै घटनास्थल पुग्न करिब दुई दिनसम्म लाग्ने अनुमान छ।

आरोहण दल कार्तिक ११ गते यलुङ रि हिमालतर्फ प्रस्थान गरेको थियो।  हिजो बिहान करिब ४ बजे बेसक्याम्पबाट चुचुरोतर्फ अघि बढेको टोली करिब ८ बजे हिमपहिरोमा परेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

हालसम्म तीन जनाको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ। यद्यपि स्थानीय स्रोत र आरोहण दलका सदस्यहरूले पाँच विदेशीसहित सात जनाको मृत्यु भएको दाबी गरेका छन्।

डिएसपी महतोले भने, हामीसँग प्राप्त आधिकारिक विवरण अनुसार तीन जनाको मृत्यु पुष्टि भएको छ, अन्यको अवस्थाबारे थप विवरण उद्धार टोली घटनास्थल पुगेपछि मात्र स्पष्ट हुनेछ।”