दैलेखमा धारामा पनी भर्न गएकी दलित महिलामाथि कुटपीट

दियोपोस्ट संवाददाता  

काठमाडौँ । दैलेखको आठबिस नगरपालिका, वडा नं.४ राकममा दलित महिलामाथि कुटपीट भएको छ । आइतबार साँझ घर नजिकैको धारामा पानी भर्न गएकी २८ वर्षिय शान्ति बास्कोटा बिक माथि कुटपीट भएको हो ।

स्थानीय रमिला बडुवालले आफुले पहिले पानी भर्न पाउनु पर्ने भन्दै शान्तिलाई कुटपीट गरको प्रत्यक्षदर्शीको भनाई छ । कुटपीटबाट शान्ती सख्त घाइते भइकी छन् । उनको मुख र हातमा गंभिर चोट लागेको छ ।

प्रत्यक्षदर्शी गणेश सुनारका अनुसार आइतबार साँझ शान्ती घर नजिकैको धारामा पानी भर्दै थिइन् । त्यति बेलै रमिला गाग्रो लिएर धारामा आइन् । उनले शान्तिलाई हकार्दै आफुले पहिले पानी भर्न पाउनु पर्ने भन्दै शान्तीलाई हटाएर आफुले पानी भर्न थालिन् । त्यसपछि दुबैबीच बिवाद सुरु भएको थियो ।

पानीको बिवादले उग्र रुप लिएपछि हानाहान र कुटपीट भएको सुनारको भनाई छ । उनी भन्छन्, ‘रमिला र शान्तीको सम्वन्ध पहिलेदेखि नै बिग्रेको रहेछ । त्यो दिन पनि पानीको निहुँमा झगडा भयो । हेर्दा हेर्दै लडाइँ नै भयो । प्रहरीमा उजुरी समेत परेको थियो । तर अहिले मेलमिलाप भइसकेको छ ।’

शान्तीले आफुमाथि जातीय गालीगलौज र कुटपीट भएको भन्दै स्थानीय प्रहरी चौकीमा उजुरी समेत दिएकी थिइन् । आफु सानो जातको भएकै कारण रमिलाले अपमान गरेको र धारामा समेत कुटपीट गरेको पीडितको भनाई छ ।

आफुमाथि जातीय बिभेद र कुटपीट भएको भन्दै शान्तीले उजुरी दिए पनि स्थानीय प्रहरी चौकीले मिलापत्र गराएर छाडेको थियो ।

यता आठबिस नगरपालिकाका प्रमुख तर्क बहादुर बडुवालले उक्त घटना जातीय बिभेदका कारण नभएको बताए । उनले सामान्य बिषयलाई जातीय मुद्धा बनाइएको र कुटपीट भएको बारेमा आफुलाई थाहा समेत नभएको बताए ।

शान्तीमाथि जातीय कारणले कुटपीट भएको र जातीय बिभेदको घटनालाई मिलापत्रमा टुङ्याएको भन्दै अधिकारकर्मीले बिरोध जनाएका छन् ।

 

सिफारिस