काठमाडौँ । लामो समयदेखि पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता झलनाथ खनाल अन्ततः पार्टी एकतामा सहभागी भएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा उनी अन्तिममा उपस्थित भई सहभागिता जनाएका हुन् ।
बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अन्य शीर्ष नेताबीचको छलफलपछि खनाललाई पार्टीमा तेस्रो वरियतामा राख्ने सहमति भएको बताइएको छ ।
स्रोतका अनुसार, यसअघि उक्त स्थानमा बामदेव गौतमलाई राखिएको थियो । तर पछिल्ला वार्तापछि नेताहरूबीच सहमति भई खनाललाई तेस्रो स्थान दिइएको हो ।
एकता वार्तामा सहभागी नेताहरूका भनाइ अनुसार, बुधबार बिहान भएको अन्तिम छलफलपछि खनालले प्रचण्ड–माधव समूहमा समाहित हुने र पार्टी एकताको निर्णयमा साथ दिने सहमति जनाएका हुन् ।
नयाँ संरचनाअनुसार नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्ड पहिलो, माधवकुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने तय भएको छ ।
खनालले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरी आफ्नो असन्तुष्टि प्रकट गरेका थिए । सुरुवातमा पुनर्गठनको पक्षमा देखिएका खनाल अन्ततः एकतामै सहभागी भएका छन् ।