यस्तो छ, ‘नेपाली कम्युनिस्ट पार्टी’को घोषणा पत्र, नेपाली विशेषताको ‘वैज्ञानिक समाजवाद’मा अघि बढ्ने लक्ष्य

दियोपोस्ट संवाददाता

काठमाडौं । दशवटा बामपन्थी दलको एकीकरणपछि नयाँ राजनीतिक संगठन ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएको छ। बुधबार राजधानीमा आयोजित संयुक्त पार्टी एकता सभामार्फत पार्टीको नाम, सिद्धान्त, चुनाव चिह्न र आगामी कार्यदिशासहितको घोषणापत्र सार्वजनिक गरिएको हो।

कार्यक्रममा पार्टी नेता देव गुरुङले नयाँ पार्टीको घोषणापत्र वाचन गरेर सुनाएका थिए । जसअनुसार पार्टीको आदर्श र सिद्धान्त “मार्क्सवाद–लेनिनवाद” रहने र दीर्घकालीन लक्ष्यको रूपमा “नेपाली विशेषताको वैज्ञानिक समाजवाद” स्थापना गर्ने नीति तय गरिएको छ।

पार्टीले अहिलेको चरणमा पुँजीवाद र जनवादका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छ। चुनाव चिह्नका रूपमा पाँच कुने तारा राखिएको छ।

पार्टीको संरचना संयोजक र सह–संयोजक पदमार्फत संचालन गरिनेछ भने ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ।

संगठन विस्तारका लागि पार्टीले जिल्ला र वडा तहसम्म संयोजक–सहसंयोजक प्रणाली लागू गर्ने योजना बनाएको छ। एकता प्रक्रियालाई संस्थागत गर्नका लागि १९ कात्तिकमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिएको पनि बताइएको छ।

घोषणापत्रमा शान्तिपूर्ण राजनीतिक अभ्यासलाई मुख्य मार्ग बनाइने स्पष्ट पारिएको छ। परिस्थितिअनुसार सडक, सदन र सरकार—तीनै मोर्चामा सक्रिय हुने नीति पार्टीले लिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, लामो समयदेखि विभाजित बाम आन्दोलनलाई एउटै छातामुनि ल्याउने यो पहलले कम्युनिस्ट आन्दोलनमा नयाँ उर्जा र केन्द्रियकरणको संकेत दिएको छ।

“नेपाली विशेषताको वैज्ञानिक समाजवाद” भन्ने अवधारणाले विदेशी मोडेलको नक्कलभन्दा स्वदेशी सन्दर्भमा आधारित नयाँ कम्युनिस्ट दृष्टिकोणको सुरुवात भएको टिप्पणी गरिएको छ।

यससँगै नेपाली राजनीतिक वृत्तमा बाम शक्तिहरूबीचको सम्बन्ध र आगामी चुनावी समीकरणमा नयाँ सम्भावनाको चर्चा सुरु भएको छ।