विद्यालय व्यवस्थापन समितिको बैठकमै अध्यक्षद्वारा प्रधानाध्यापकमाथि कुटपिट, शिक्षक महासंघको कडा आपत्ति

दियोपोस्ट संवाददाता

काठमाडौँ । सिन्दुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–१ मा रहेको भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीमाथि कुटपिट भएको छ । समितिका अध्यक्ष खाम्सोङ तामाङले बुधबार विद्यालय व्यवस्थापन समितिको बैठकका क्रममा प्रधानाध्यापक भण्डारीमाथि शारीरिक आक्रमण गरेका हुन् ।

वडा सदस्य नरेश तामाङका अनुसार, ‘म र भण्डारी म्याडम बैठकको निर्णय लेख्दै निहुरेर बसिरहेका थियौँ। त्यही बेला अध्यक्षले एक्कासी मुड्की प्रहार गर्नुभयो। किन रिसाउनुभयो भन्ने कुरा अझै स्पष्ट छैन,’ उनले बताए।

कुटपिटका कारण प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ भने घटनापछि विद्यालय परिसर नै तनावग्रस्त बनेको छ। घटनापछि सम्पर्कका प्रयास गर्दा भण्डारीको मोबाइल फोन स्विच अफ रहेको जनाइएको छ।

उता, नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले उक्त घटनाप्रति कडा आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै अध्यक्ष तामाङमाथि कानुनी कारबाहीको माग गरेको छ। साथै, दोषीमाथि आवश्यक कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ।