बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, चालक गम्भीर घाइते

दियोपोस्ट संवाददाता

धनगढी । बझाङको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना भएको हो ।

ट्याक्टर करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा थालारा-२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता डीएसपी टेकबहादुर जोराले जानकारी दिए ।

दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका-४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । उनको छाती र बाँया खुट्टामा चोट लागेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।