काठमाडौं । विभिन्न १० वामपन्थी दल र समूहहरू मिलेर बनेको नयाँ राजनीतिक शक्ति ‘नेपाली कम्युनिस्ट पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। एकता घोषणा भएको भोलिपल्टै, बिहीबार पार्टीले आयोगमा आधिकारिक रूपमा निवेदन पेश गरेको हो।
यस नयाँ पार्टीमा साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू समावेश छन्। नवगठित पार्टीले आफ्नो चुनाव चिन्ह ‘पाँचकुने तारा’ तोकेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन आयोगले प्राप्त गरिसकेको छ। आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुन चाहने दलहरूले ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र अनिवार्य रूपमा लिइसक्नुपर्ने प्रावधान छ।
दल एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित निवेदन दर्ता गरिएको नेता शिव खकुरेलले जानकारी दिए। उनका अनुसार हाल पार्टीको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ। उनले भने, “पदाधिकारी र अन्य संरचनाका विषय टुंगिएपछि आयोगमा विधानलगायतका कागजातहरू पेश गरिनेछ।”