
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलसहित बिहीबार नेपाल फर्किएका हुन् ।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा प्रस्थान गरेका थिए। बिहीबार हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहितका उच्च अधिकारीहरूले उनलाई बिदाइ गरेका थिए।
सम्मेलनको मुख्य सत्रमा राष्ट्रपति पौडेलले मङ्गलबार सम्बोधन गर्दै गरिबी निवारण, पूर्ण र उत्पादक रोजगारी, मर्यादित काम तथा सामाजिक समावेशीकरणका विषयमा नेपालका अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए। त्यस अवसरमा उनले सोही विषयमा आयोजित उच्चस्तरीय गोलमेचमा पनि सहभागी भई विचार व्यक्त गरेका थिए।
सोही दिन राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरी परस्पर चासोका विषयमा छलफल गरेका थिए।
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा सम्पन्न उक्त शिखर सम्मेलनमा विश्व समुदायले सामना गरिरहेको विकासको असमानता, जनसङ्ख्यात्मक असन्तुलन, प्रविधिको सामाजिक प्रभाव लगायतका विषयमा गहन चर्चा गरिएको थियो।
नेपाल हाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष राष्ट्र भएकाले राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहितको भएका थिए।