एकिकृत समाजवादीका ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाल र रामकुमारी झाँक्रीसहितका ६ जना नेतामाथि पार्टी सदस्यता समेत नरहने गरी कारबाही गरेको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकमार्फत विधानको धारा १२१ (२०) अनुसार कारबाही गरेका हुन्।

पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेताहरू घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान)लाई कारबाही गरिएको बताइएको छ ।

एकिकृत समाजवादी पार्टीद्वारा बुधबार जारी विज्ञप्तीमार्फत कारवाहीमा परेका नेताहरुले पार्टीको नाम र पद प्रयोग गरी कुनै पनि सभा, बैठक, पत्रकार सम्मेलन वा अन्य गतिविधि गरेमा थप कारबाही हुने चेतावनी समेत दिइएको छ।

उक्त कारबाहीको निर्णय नेकपा माओवादी केन्द्रसहित १० दल मिलेर नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’ घोषणा भएको भोलिपल्ट आएको हो।