काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलि शुक्रबारदेखि सौराहास्थित चित्रसारीमा सुरु हुने भएको छ । दुई दिन अर्थात् २१ र २२ कात्तिकसम्म सञ्चालन हुने यो बैठकका लागि सबै तयारी पूरा भएको पार्टीले जनाएको छ ।
बैठक शुक्रबार बिहान ८ बजेबाट सुरु हुनेछ । अधिकांश प्रतिनिधिहरू आज रातिसम्म सौराहा पुग्ने तयारीमा छन् । बैठकको उद्घाटन कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन् ।
बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा। स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा–पत्रको मस्यौदा, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन, र सह-महामन्त्री विपिन आचार्यले उम्मेदवार चयन विधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
पार्टीका केन्द्रीय, सचिवालय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश सचिवालय, जिल्ला सभापति, निर्वाचन क्षेत्रीय सभापति, विदेशस्थित पार्टी संगठन तथा पालिकाका सभापतिहरूसहित करिब ५१२ जना प्रतिनिधि बैठकमा सहभागी हुने बताइएको छ ।
बैठकमा प्रदेश सभापतिहरूले आफ्नो प्रदेशको सांगठनिक अवस्थाबारे धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ । त्यस्तै, प्रस्तुत प्रतिवेदनमाथि सुझावसहित छलफल गरी आवश्यक परिमार्जन गरी बैठक समापन गरिने कार्यक्रम रहेको छ ।
बैठकमा आगामी फागुनमा प्रस्तावित महाधिवेशन, पार्टी संरचना पुनर्गठन, सांगठनिक कमजोरी सुधार, विगतका रणनीतिक अभ्यास, र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे गहिरो छलफल हुनेछ ।
पार्टी प्रवक्ता मनिष झाले फरक-फरक धारणा पार्टीभित्र स्वागत गरिने र सबै प्रतिनिधिलाई आफ्ना विचार राख्ने अवसर दिइने बताए । उनले जेनजी आन्दोलनपछि देखिएका आन्तरिक विवाद र पार्टीको भावी कार्यदिशा सम्बन्धमा पनि बैठकले स्पष्ट धारणा बनाउने जानकारी दिए ।