काठमाडौँ । माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का ६ जना केन्द्रिय सदस्यलाई कारवाही गरे पछि नेतृ रामकुमारी झाँक्रीले कारवाहीको बिरोध गरेकी छन् । माधव कुमार नेपाललाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेको खुला पत्र मार्फत कटाक्षसहित बिरोध गरेकी हुन् ।
झाँक्रीले पत्रको सुरुवातमा ‘प्रिय कमरेड माधव’ भन्दै उनको लामो राजनीतिक यात्रा, नेतृत्वको जिम्मेवारी र पछिल्लो घटनाक्रमप्रति कटाक्ष गरेकी छन्। उनले लेखेकी छन्, ‘आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको?’
उनले माधव नेपालले १९ वर्ष पार्टी प्रमुखका रूपमा र बाँकी समय पार्टी सञ्चालन र नियन्त्रणमा बिताएको स्मरण गराउँदै हालको घटनाले उनको राजनीतिक इतिहास पुनः विवादमा ल्याएको उल्लेख गरेकी छन्।
पत्रमा झाँक्रीले जीवनको अन्त्यमा मान्छेले लान सक्ने कुरा केवल स्मृतिहरू मात्र हुने भन्दै लेखेकी छन्, “जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन र जवानी अर्पण गरेको ब्यक्तिले लाने त यति त हो, एउटा मिठो वा तितो स्मृति।”
उनले अन्त्यमा माधव नेपालप्रति स्नेह र सम्मान व्यक्त गर्दै लेखेकी छन्, “हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवन सुखद होस्, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना।”
यो खुला पत्रले पार्टीभित्रको पछिल्लो असन्तुष्टि र नेतृत्वप्रतिको असहमति स्पष्ट पार्दै झाँक्रीको व्यक्तिगत भावनात्मक पक्ष पनि उजागर गरेको देखिन्छ।
