भारतको नयाँ दिल्लीमा वायु प्रदूषण ‘रेड जोन’ मा प्रवेश, नागरिकको स्वास्थ्य जोखिममा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण ‘रेड जोन’मा प्रवेश गरेको छ । शनिबार साँझसम्म वायु गुणस्तर सूचकांक ९ब्त्तक्ष्० ४०० नाघेको बताइएको छ । वातावरणविद्हरूका अनुसार यो स्तरको प्रदूषण मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ ।

नयाँ दिल्लीमा धुँवा र धुलोको बाक्लो तहले शहरका अधिकांश भाग ढाकिएका छन् । बिहान र बेलुकाको समयमा दृश्यता निकै घटेको छ । प्रदूषणका कारण विद्यालयका विद्यार्थी, वृद्धवृद्धा र स्वास सम्बन्धी समस्या भएका व्यक्तिहरू बढी प्रभावित भएका छन् ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले नागरिकलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन र बाहिर जाँदा एन ९५ वा फिल्टरयुक्त मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

पर्यावरण विज्ञ डा. सुमन अग्रवालका अनुसार चिसो मौसम, कम हावा चलेको अवस्था, खेतमा धानको पराल जलाउने कार्य र बढ्दो सवारी साधनको धुवाँले प्रदूषण अझ बढाएको हो । उनका अनुसार “यदि तत्काल प्रभावकारी नीति लागू नभए, प्रदूषणको स्तर अझै बढ्न सक्छ र यसको स्वास्थ्य प्रभाव दीर्घकालीन हुनेछ।”

यसबीच, दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि केही आपतकालीन उपाय घोषणा गरेको छ । कार्यालयको समय परिमार्जन, निर्माण कार्यमा रोक, र निजी सवारी साधनको प्रयोग घटाउने निर्णय गरिएको छ । तर, ‘ग्रेस्ड रिस्पोन्सन एक्शन प्लान’का सबै चरण अझै लागू नभएको जनाइएको छ ।

दिल्लीको प्रदूषण नियन्त्रण बोर्डका पछिल्ला तथ्याङ्क अनुसार केही स्थानहरूमा AQI ४३० भन्दा माथि पुगेको छ । यो स्तर ‘गम्भीर’ श्रेणीमा पर्ने भएकाले सास फेर्न गाह्रो हुने, आँखा पोल्ने, घाँटीमा जलन हुने र दीर्घकालीन रोगको जोखिम बढ्ने चेतावनी दिइएको छ ।

स्वास्थ्य विज्ञहरूले जनतालाई घरभित्र शुद्ध हावा प्रवाह सुनिश्चित गर्न, धुलोबाट जोगिन, र पर्याप्त पानी पिउन सल्लाह दिएका छन् । साथै, बालबालिका र वृद्धहरूको हेरचाहमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।

नयाँ दिल्लीमा वायु प्रदूषण हरेक वर्ष यस समयमा गम्भीर समस्या बनेको छ । यद्यपि, यस वर्षको स्तर विगत पाँच वर्षकै तुलनामा बढी खतरनाक देखिएको बताइएको छ ।

सिफारिस