काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीं)का महासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ स्वरूपमा पार्टी पुनर्गठन हुने भएको । भुसाल नेतृत्वको समूहले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरि पार्टीलाई पूर्नगठन गर्ने बताएको हो ।
पत्रकार सम्मेलनमार्फत पार्टीलाई नयाँ दृष्टिकोण र संगठनात्मक स्वरूपमा अघि बढाउने घोषणा गर्दै यसलाई ‘क्रान्तिकारी समाजवादी दल’का रूपमा प्रस्तुत गरिएको पार्टी निकट एक नेताले बताए । हालको राजनीतिक परिस्थिति र पार्टीभित्र देखा परेका मतभेदले संगठनलाई कमजोर बनाएको र नयाँ पार्टी निर्माण आवश्यक भएकाले पार्टी पूर्नगठन गरिएको उनले बताए ।
पुनर्गठित पार्टीले आफ्नो नीति, सिद्धान्त र कार्यदिशामा स्पष्टता ल्याउने उद्देश्य राखेको बताइएको छ । भुसालले पुनर्गठनपछि जारी गरेको प्रारम्भिक घोषणापत्रमा दलाल पुँजीवादको विकल्पस्वरूप राष्ट्रिय पुँजीको विकास, सामाजिक समानता र समाजवादी रूपान्तरणलाई प्रमुख एजेण्डाका रूपमा समावेश गरिएको उल्लेख गरिएको छ ।
साथै, वर्गीय, जातीय र लैङ्गिक विभेद अन्त्य गर्दै स्वावलम्बी र न्यायपूर्ण समाज निर्माण गर्ने योजनामा पार्टीले जोड दिने बताइएको छ ।
यसअघि अध्यक्ष माधवकुमार नेपालले अन्य वाम दलहरूसँग एकता प्रक्रियालाई अघि बढाएपछि पार्टीभित्र असन्तुष्टि बढेको थियो । त्यसैको परिणामस्वरूप महासचिव भुसालले असहमतिको स्वरमा अलग संगठन निर्माणको बाटो रोजेका हुन् ।
हाल पुनर्गठित पार्टीले राष्ट्रिय भेला बोलाएर नयाँ संरचना र नेतृत्व चयनको तयारी गरेको छ । पार्टीले भेला मार्फत केन्द्रीय समिति, स्थायी समिति तथा अन्य अंगको आकार निर्धारण गर्ने बताएको छ । तर, अहिलेसम्म पुनर्गठित केन्द्रीय र स्थायी समितिका सदस्यहरूको नामावली सार्वजनिक गरिएको छैन ।
पुनर्गठन प्रक्रियामा घनश्याम भुसाललाई संयोजकका रूपमा राखिएको र विभिन्न जिल्लामा संगठन विस्तार अभियान सुरु गरिएको जानकारी दिइएको छ । मङ्सिरको पहिलो हप्तासम्ममा पार्टीको पूर्ण नेतृत्व संरचना टुंग्याउने तयारी भुसाल समूहले गरेको छ ।
राजनीतिक विश्लेषकहरूले भुसाल नेतृत्वको यो कदमलाई नेपालको वाम राजनीतिमा नयाँ ध्रुवीकरणको सुरुवातका रूपमा व्याख्या गरेका छन् ।
उनीहरूका अनुसार, पुनर्गठित समाजवादी पार्टीले यदि विचार र संगठन दुवैमा स्पष्टता कायम गर्न सक्यो भने निकट भविष्यमा यसको प्रभावशाली उपस्थिति देखिन सक्ने सम्भावना छ ।