मनोहराका सुकुम्वासीलाई दुर्गा प्रसाईको आश्वासन : ‘बालेनमथि जाइलाग्नुस, सबैलाई पक्की घर बनाइदिन्छु’

दियोपोस्ट संवाददाता  

काठमाडौं । ‘मातृभूमि बचाउ अभियान’का प्रमुख मेडिकल व्यवशायी दुर्गा प्रसाइले काठमाडौंका मेयर बालेन्द्र साहका बिरुद्ध आवाज उठाउन सुकुम्बासीहरुलाई आव्हान गरेका छन् । आइतबार बिहान मनोहरा स्थित सुकुम्बासी बस्तीमा आयोजित कोणसभामा प्रसाइले बालेन र राजु पाण्डेसँग कठोर रूपमा लड्न सुझाव दिएका हुन् ।

प्रसाइले बालेनमाथि विभिन्न आरोप लगाउँदै, महानगरको डोजर बस्तीमा आउनु अघि नै बालेनको घर पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न सुकुम्बासीहरूलाई उक्साए । उनले भने, ‘यदि तपाईंहरूको बस्ती भत्काउन आयो भने झटपट उसको घरतिर जानुहोस्, श्रीमतीलाई बाहिर निकाल्नुहोस्।’

प्रसाइले राजनीतिक दलहरूले सुकुम्बासीहरूलाई केवल भोट बैंकको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आफूले भोट नखोजी सबैका लागि पक्की घर दिलाउने प्रतिवद्धता जनाए। साथै सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी पनि उनले दिएका छन्।

सो अवसरमा प्रसाइले मंसिर ७ गते घोषणा गरेको आन्दोलनको तयारीमा लाग्न सुकुम्बासीहरूलाई आग्रह गरे । उनले बालेनसँग सम्बन्धित आर्थिक अनियमितताको पनि आरोप लगाएका छन्। बब्लु गुप्तालाई मन्त्री बनाउन बालेनले भिक्टर पौडेलसँग मिलेर करोडौंको लेनदेन गरेको समेत दाबी गरे ।

महानगरले सुकुम्बासी बस्ती खाली गर्न एक हप्ताको अल्टिमेटम दिएको । उक्त अल्टिमेटम आज सकिएको छ र अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने तयारी रहेको महानगरको योजना छ।

सिफारिस