काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, प्राध्यापक र शैक्षिक कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले आफ्नो पेशागत कर्तव्य र नैतिक आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भइरहे कारवाही गरिने चेतावनी दिएको हो ।
शिक्षा मन्त्री महाबीर पूनद्वारा जारी सुचनामा भनिएको छ, ‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको छ । कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानूनी कारवाही हुने छ ।’
मन्त्रालयले यस्ता गतिविधिले शिक्षा क्षेत्रमा नकारात्मक असर पार्दै शैक्षिक गुणस्तर खस्किँदै गएको बताएको छ । राजनीतिक दलका भातृसंगठन वा शुभेच्छुक संस्थाका रूपमा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीका संघ-संगठनहरूलाई अबदेखि मन्त्रालयले मान्यता नदिने निर्णय पनि गरेको छ ।
मन्त्रालयले सरकारी सेवामा कार्यरत कसैलाई पनि राजनीतिक गतिविधिमा संलग्न हुने कानूनी अधिकार नभएको प्रष्ट पारेको छ । मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा शिक्षक तथ कर्मचारीलाई पदबाट बर्खास्तसम्मको कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
मन्त्रालयले शिक्षक महासंघ, प्राध्यापक संघलगायत शिक्षा क्षेत्रमा क्रियाशील संघ–संगठनहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक बनाउँदै पुनर्गठन गर्न पनि आग्रह गरेको छ । साथै, शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा कायम राख्न सबै सरोकारवालालाई जिम्मेवार बन्न अनुरोध समेत गरेको छ ।
