
मनाङ । मनाङमा कात्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय नागरिकको शव फेला परेको छ । आइतबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो ।
मृत्यु हुनेमा ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्सा कुमारी पटेल रहेका छन्। मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका उनीहरू कात्तिक ३ गते सोही गाउँपालिका–५ मा पर्ने मलेरिपा गुम्बा भ्रमणका लागि निस्किएपछि सम्पर्कविहीन भएका थिए।
सम्पर्क टुटेपछि होटल व्यवस्थापनले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो। प्रारम्भिक खोजीमा पनि उनीहरू फेला नपरेपछि कात्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको कमाण्डमा विशेष उद्धार टोली पुनः खटिएको थियो।
उक्त माउण्टेन रेस्क्यु तालिमप्राप्त टोलीले मलेरिपा गुम्बाबाट करिब सय मिटर माथि हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरी सहप्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
हाल शवलाई घटनास्थलबाट तल झार्ने कार्य जारी रहेको छ। मृतकद्वय बाबु र छोरी भएको पुष्टि भएको छ।