
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्रीको रूपमा नियुक्त गरेकी छिन्। पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि आइतबार संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलका नेता यादवलाई नियुक्त गरिएको हो।
प्रदेश प्रमुख भण्डारी स्वास्थ्य समस्या रहेको भन्दै बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्। त्यसअघि मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको शुभकामना दिँदै बिदाइ गरेका थिए।
तर, केही समयपछि नै भण्डारीले होटल ‘पानस’मा बसेर एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र जारी गरेकी थिइन् र त्यहीँ शपथग्रहण पनि सम्पन्न गरिएको बताइएको छ।
गत असोज २९ गते सात दलको गठबन्धनबाट लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए। तर विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनले कात्तिक २२ गते राजीनामा दिएका थिए। राजीनामा स्वीकृत भए पनि प्रदेश प्रमुखले तत्काल नयाँ सरकार गठनको आह्वान गरेकी थिइनन्।
गठबन्धनका नेताहरुले भने भण्डारी एमाले दललाई सरकार गठनको अवसर दिन सक्ने आशंका गर्दै आइतबार प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि प्रदर्शन गरेका थिए। शनिबार बेलुकी उनीहरुसँग भण्डारीले छलफल गरेकी थिइन्।
तर, त्यसको भोलिपल्टै उनले काठमाडौं पुग्ने बहानामा होटलमै नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेशमा राजनीतिक हलचल बढेको छ।
पूर्वमुख्यमन्त्री सोनलले यस घटनाप्रति कडा प्रतिक्रिया दिँदै भनेका छन्, “प्रदेश प्रमुख भण्डारीले मधेशको अस्मिता समाप्त पार्ने खेल खेलिन्।”