
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगंजमा आगजनी, लुटपाट र प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्न एक व्यक्ति हतियारसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार मिति २०८२ साल भदौ २४ गतेको आन्दोलनका क्रममा संलग्न रहेको अभियोगमा भोजपुर जिल्ला, दोभान गाउँपालिका–२ निवासी हाल काठमाडौं महानगरपालिका–१५ पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई नियन्त्रणमा लिइएको हो।
राईलाई मिति यहि कार्तिक २२ गते काठमाडौं महानगरपालिका–३, सामाखुसी चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो क्रममा उनको कोठामा गरिएको खानतलासीमा प्रहरीको टाइप–५४ पेस्तोल, म्याग्जिनमा सात राउण्ड गोली, आन्दोलनको दिन लगाएको कपडा र जुत्ता बरामद गरिएको बताइएको छ।
उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
त्यसैगरी, राईमाथि यसअघि नै प्रहरी वृत्त महाराजगंजबाट ज्यान सम्बन्धी कसूरमा पनि मुद्दा दर्ता भएको अभिलेखमा फेला परेको प्रहरीले जनाएको छ।