भिम रावलको ‘मातृभूमि जागरण अभियान’ र ‘नेपाली कम्युनिष्ट पार्टी’बीच कार्तिक २६ गते एकता हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । पूर्व एमाले नेता भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने तयारी भएको छ। यही कार्तिक २६ गते बुधबार राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरि दुबै पक्षबीच औपचारिक एकता घोषणा गर्न लागिएको हो ।

हालै माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वाम घटकबीच एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा रावलबीच एकता गर्ने विषयमा केही दिनदेखि निरन्तर छलफल भइरहेको नेपाली कम्युनिष्ट पार्टी निकट एक नेताले जानकारी दिए ।

मातृभूमि जागरण अभियान र नेपाली कम्युनिष्ट पाटीबीच भएको छलफलले भीम रावललाई पार्टीको छैटौँ वरीयतामा राख्ने सहमति भएको बताइएको छ। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछि रावललाई वरिष्ठ नेता स्तरमा जिम्मेवारी दिइने तयारी भएको स्रोतले जनाएको छ ।

एमालेले साधारण सदस्यता समेत खारेज गरेपछि रावलले मातृभूमि जागरण अभियान संचालन गर्दै आएका थिए।