
चितवन । भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको छ । पाँच दिन अघि सुत्केरी गराउन अस्पताल अएकी पर्सा स्थायी घर भई चितवनस्थित कालिका नगरपालिका-२ बस्ने ३० वर्षीया संगीता विकको उपचारको क्रममा मृत्यु भएको हो ।
संगीताको मृृत्यु भएपछि आफन्तहरूले अस्पताल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै नाराबाजी गरेका छन्।
संगीतालाई कात्तिक २० गते अस्पतालमा भर्ना गरिएको थियो। भिडियो एक्सरेमा गर्भमा रहेको शिशुको धड्कन नभएको पुष्टि भएपछि चिकित्सकहरूले नर्मल डेलिभरीको प्रयास गरेका थिए। तर, कात्तिक २२ गते उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि राति करिब ९ बजे आईसीयूमा सारिएको र सोही राति ११ः४० बजे उनको मृत्यु भएको परिवारजनले बताएका छन्।
मृतकका आफन्तहरूले बच्चाको धड्कन नभएको थाहा पाएपछि पनि तत्काल शल्यक्रिया नगरेर ढिलाइ गरेको कारण संगीताको ज्यान गएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषी चिकित्सकलाई कारबाहीको माग गरेका छन्।
अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका छन्। संगीताको मृत्यु पल्मोनरी एम्बोलिजम (फोक्सोमा रगतको थक्का जम्ने अवस्था) का कारण भएको डाक्टरले बताउँदै आएका छन् ।
डा. सापकोटाले पेटभित्रै शिशुको मृत्यु भइसकेपछि आमालाई शल्यक्रियाबाट हुने अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको बताए। उनले संगीतालाई व्यथा लाग्ने औषधि चलाएपछि ‘कार्डियाक अरेस्ट’ भएको र सीपीआर दिँदै आईसीयूमा लगेर बचाउने प्रयास गरे पनि सम्भव नभएको बताए।
अहिले घटनाको विषयमा अस्पताल प्रशासनले आन्तरिक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।