काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री चार वर्ष पछि पुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएकी छन्। एमालेको “घर फर्क” अभियानअन्तर्गत झाँक्री सोमबार औपचारिक रूपमा पार्टी प्रवेश गरेकी हुन् ।
राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानको राष्ट्रिय घोषणा सभामार्फत एमालेमा फर्किएकी झाँक्रीले सम्बोधनका क्रममा आफु मूल घरमा फर्किएको बताइन्।
झाँक्रीले भनिन्, “हामी नयाँ ठाउँ खोज्न हैन, आफ्नै घर फर्किएका हौं। एमाले नै देशको राष्ट्रियता, लोकतन्त्र र जनताको पक्षमा उभिएको सशक्त शक्ति हो।”
उनले अघिल्लो दल एकीकृत समाजवादीमा रहँदा “राजनीतिक सिद्धान्त र व्यवहारबीच दूरी बढेको” भन्दै त्यसबाट अलग हुने निर्णय गरेको स्पष्ट पारिन्।
झाँक्रीले पछिल्ला दिनमा चलिरहेको जनअसन्तुष्टि र आन्दोलनबारे टिप्पणी गर्दै भनिन्, ‘आन्दोलनको नाममा रोटी सेक्नेहरूले जवाफ दिनुपर्छ। देशका पक्षमा होइन, सत्ताको स्वार्थका लागि आन्दोलन चलाइन्छ भने त्यसले जनतालाई फाइदा गर्दैन।’अबको राजनीतिक यात्रामा एमालेले “राष्ट्रिय एकता, सुशासन र विकास”लाई प्राथमिकता दिने उनको तर्क छ ।
झाँक्री चार वर्ष अघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेकी थिइन्। चार वर्षपछि उनी पुनः एमालेमा फर्किएकी छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार झाँक्रीको पुनरागमनले एमालेभित्र महिला नेतृत्व सुदृढ हुने र दलभित्र पुराना संरचनात्मक सम्बन्धहरू पुनर्संयोजनमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।