समाजवादी मोर्चाबाट ‘नेकपा’ अलग भएको विप्लवको घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चाबाट पार्टी अलग भएको घोषणा गरेका छन् । विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट पार्टी अलग भएको घोषणा गरेका हुन् ।

विप्लवले विज्ञप्तिमार्फत हालको राजनीतिक परिवेशमा व्यापक परिवर्तन आएको जनाउँदै जेनजी आन्दोलनपछि नयाँ प्रकारको एकता र मोर्चाबन्दीका प्रयासहरू तीव्र बन्दै गएको बताए ।

तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेकाले अहिलेको स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्षमा पार्टी पुगेको उनले स्पष्ट पारेका छन् ।

प्रारम्भिक चरणमा केही महत्वपूर्ण कार्यक्रम सम्पन्न भए पनि अपेक्षित गतिमा काम अघि बढ्न नसकेको उल्लेख विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं।”

समाजवादी मोर्चा दुई वर्ष अघि चार दलको सहभागितामा गठन गरिएको थियो । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण, जनजीविकाको पक्ष र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ गठन गरिएको थियो ।

 

सिफारिस