भीम रावल नेतृत्वको ‘मातृभूमि राष्ट्रिय जागरण’ अभियान नेपाली कम्युनिष्ट पार्टीमा आज समाहित हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । मातृभूमि राष्ट्रिय जागरण अभियानका संस्थापक नेता डा.भीम रावल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । आज दिउँसो राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरि एकता घोषणा गर्न लागिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा एकता घोषणा गरिने बताइएको छ ।

नेकपा स्रोतका अनुसार डा. रावललाई पार्टीको केन्द्रीय तहमा महत्वपूर्ण जिम्मेवारी दिने सहमति भएको छ । एकता कार्यक्रमपछि नेकपाले विस्तारित केन्द्रीय समिति बैठकमार्फत नयाँ नेतृत्व संयोजन तथा संगठन संरचना घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

राजनीतिक विश्लेषकहरूले रावलको प्रभाव क्षेत्र सुदूरपश्चिम र कर्णाली प्रदेश भएकाले एकताबाट नेकपाको संगठनात्मक सुदृढीकरणमा उल्लेख्य योगदान पुग्ने बताएका छन् ।

साथै, आगामी निर्वाचनलाई लक्षित गरेर भएको यो कदमले वाम एकताको पुनर्संरचना तर्फ संकेत गरेको विश्लेषण गरिएको छ । एमालेबाट अलग भएर मातृभूमि राष्ट्रिय जागरण अभियान सुरु गरेका रावलले राष्ट्रियता, सुशासन र समाजवादका सिद्धान्तमा आधारित नयाँ राजनीतिक विकल्पको रूपमा अभियान सञ्चालन गर्दै आएका थिए ।

पछिल्ला चरणमा नेकपाका शीर्ष नेताहरूसँग निरन्तर संवाद हुँदै आएको र विचारगत समानता पाइएकाले एकता गर्न लागिएको नेकपाका एक नेताले जानकारी दिए । अब केही दिन पछि पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारी र अशोक राईसंग पनि एकताका लागि छलफल अगाडी बढाइएको नेकपा स्रोतले बतायो ।

सिफारिस