काठमाडौँ । टर्की सेनाको सी-१३० प्रकारको कार्गो विमान मंगलबार जर्जियाको आकाशमा दुर्घटनाग्रस्त भएको छ। विमान अजरबैजानबाट टर्की फर्किँदै गर्दा जर्जियाको सिग्नाघी नगरपालिका नजिक अजरबैजान सीमातर्फ दुर्घटनामा परेको हो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार, विमानमा रहेका चालक दलका सदस्यसहित २० जना सैनिकको ज्यान गएको छ। टर्कीको रक्षा मन्त्रालयले विमानले जर्जियाको हवाई क्षेत्र प्रवेश गरेपछि केही मिनेटमै सम्पर्क टुटेको जनाएको छ।
जर्जियाली अधिकारीहरूले साँझ करिब ५ बजे उद्धार टोली घटनास्थलमा पुगेको र खोज तथा उद्धार कार्य सुरु गरिएको जानकारी दिएका छन्।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतक सैनिकहरूलाई सहिदको सम्मान दिने घोषणा गरेका छन्। उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै यो दुःखद क्षणमा देश एकजुट रहनुपर्ने बताएका छन्।
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र जर्जियाका विदेशमन्त्री माका बोतचोरिशविलीले पनि टर्की सरकारप्रति समवेदना व्यक्त गर्दै मृतक सैनिकहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका छन्।
दुर्घटनाको कारण पत्ता लगाउन टर्कीले विशेष अनुसन्धान टोली जर्जिया पठाउने तयारी गरेको छ। सी-१३० विमानहरू टर्की सेनामा जनशक्ति र सामाग्री ढुवानीका लागि लामो समयदेखि प्रयोग हुँदै आएका छन्। अजरबैजान र टर्कीबीच बलियो सैन्य सहकार्य रहँदै आएको छ, जसलाई पछिल्ला वर्षहरूमा अझ सुदृढ पारिएको छ।
दुर्घटनाको ठ्याक्कै कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन, जर्जियाली अधिकारीहरूले औपचारिक अनुसन्धान सुरु भएको जनाएका छन्।