दुर्गा प्रसाईंका प्रतिनिधिले बुझाए गृहमन्त्रीलाई ‘२७ बुँदे’ माग पत्र

दियोपोस्ट संवाददाता  

काठमाडौं । दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका प्रतिनिधिले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् । अभियानको टोलीले बुधबार सिंहदरबारमा मन्त्री अर्याललाई भेटेर २७ बुँदे मागपत्र पेश गरेको हो ।

मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्मका माग समेटिएका छन् ।

त्यस्तै, संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य कायम गरिनुपर्ने र प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग उनीहरुको माग छ ।

उक्त माग पत्रमा सर्वहारा र भुईँमान्छेले लघुवित्त र सहकारीबाट लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने लगायत बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

यसैगरी २० लाख भन्दा बढीको ऋण २५ किस्ताबन्दीमा पाँच प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने सुविधाको माग पनि प्रसाईं समूहले राखेको छ ।

यी माग पुरा भए आफुहरुले आन्दोलन फिर्ता लिने उक्त समुहले जनाएको छ ।

सिफारिस