काठमाडौँ । मातृभूमि जागरण अभियानका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयोजित एक भव्य समारोहमार्फत उनी औपचारिक रुपमा नेकपामा समाहित भएका हुन् ।
रावललाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले माला तथा खादा लगाएर पार्टीमा समाहित गरेका थिए ।
एकता प्रक्रियालाई संस्थागत गर्न प्रचण्ड र रावलबीच सात बुँदे सहमति भएको छ। उक्त सहमतीमा दुवै नेतासँगै माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन्।
सहमति अनुसार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा छैटौं वरीयताका नेता रहने छन्। त्यस्तै, सहमति अनुसार दुवै पक्षले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र महाधिवेशनको मिति तथा स्थान सचिवालयले छिट्टै निर्धारण गर्ने निर्णय भएको बताइएको छ ।
सहमति पत्रमा नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
साथै बाह्य हस्तक्षेप र दबाबमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको मार्गमा अघि बढ्ने अठोट पनि व्यक्त गरिएको छ।
दुवै पक्षले समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको अभियानलाई संयुक्त रूपमा अघि बढाउने सहमति जनाएका छन्।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
रावललाई ५ वर्ष अघि नेकपा (एमाले) बाट पार्टीको साधारण सदस्य समेत नरहने गरि निश्कासन गरिएको थियो ।