सिन्धुलीमा ट्रक-मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, चार घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका-४ लक्ष्मीपुरमा बुधबार दिउँसो भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन्।

मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ गइरहेको नाप्र-१-०२-००२ ख ४११ नम्बरको मालबाहक ट्रक र विपरीत दिशाबाट आइरहेका नाप्र-२-०१-प २१४२ र मप्र-०२-००६ प ५८४१ नम्बरका दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय डकाहाकी प्रमुख प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन्।

दुर्घटनामा दुधौली नगरपालिका-११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र २५ वर्षीय फुलबाबु धामीको मृत्यु भएको हो। उनीहरूलाई दुधौली नगर अस्पताल सिर्थौलीमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी, दुर्घटनामा दुधौली-३ का २६ वर्षीय विप्लव धामी, २७ वर्षीय बुद्धि थारू, २५ वर्षीय सुनिल माझी, र ३२ वर्षीय कुशे धामी घाइते भएका छन्। अस्पताल स्रोतका अनुसार विप्लव, बुद्धि र कुशेको अवस्था गम्भीर छ।

धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका-६ का २५ वर्षीय शेरबहादुर विष्टले चलाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थल नजिकै आगलागी समेत भएको प्रहरीले जनाएको छ। मप्र-०२-००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगो लागि पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ।

दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सिफारिस