काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २० सम्म १८ वर्ष पुरा हुने नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ । आयोगले बुधबार एक विज्ञप्ती जारी गर्दै फागुन २० सम्म १८ वर्ष पुरा हुनेहरुलाई मात्र मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अपिल गरेको हो ।
आयोगले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा नहुने नागरिकहरूले यस निर्वाचनमा मतदान गर्न नपाउने भएकाले उमेर पूरा नहुनेहरूले अहिले मतदाता नामावलीमा नाम दर्ता नगर्न समेत आग्रह गरेको छ ।
आयोगको विज्ञप्तिमा भनिएको छ, “निर्वाचन सम्पन्न भएपछि मात्रै ती नागरिकहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । त्यसैले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूले मात्र नाम दर्ता गरिदिनुहोस्।”
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार देशभर नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन गर्न विशेष व्यवस्था गरिएको छ। उनका अनुसार, दैनिक ८०० भन्दा बढी दर्ता भईरहेका जिल्लाहरूमा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने निर्णय गरिएको छ। यसअनुसार ती जिल्लाहरूमा दैनिक १२ घण्टासम्म (६-६ घण्टा) दुई सिफ्ट सेवा प्रदान गरिनेछ।
यसका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। अन्य जिल्लाहरूमा भने सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत अतिरिक्त जनशक्ति खटाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको पनि जानकारी दिइएको छ।
आयोगले सबै नागरिकलाई समयमै नाम दर्ता गर्न र आवश्यक कागजातसहित दर्ता स्थलमा पुग्न आग्रह समेत गरेको छ।