बुटवल । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका–८ का थानेश्वर घिमिरे संयुक्त अरब इमिरेट्स (यूएई)मा एक आपराधिक अनुसन्धानमा तानिएका छन् । एक अपराधिक घटनामा तानिएपछि हाल त्यहाँको प्रशासनिक निर्णयअनुसार उनी यात्रा प्रतिबन्ध (ट्राभल ब्याण्ड)मा परेका हुन्।
यूएईस्थित नेपाली राजदूतावासले घिमिरेमाथिको यात्रा प्रतिबन्ध स्थानीय कानूनी प्रक्रिया पूरा नभएसम्म हटाउन नसकिने बताइएको छ।
राजदूतावासका अनुसार उक्त मुद्दा गम्भीर प्रकृतिको भएकाले यूएईका सम्बन्धित निकायहरूले अनुसन्धान र कानूनी कारबाही टुंगिएपछि मात्र प्रतिबन्ध फुकुवा गर्ने स्पष्ट बताएका छन्।
मानवीय दृष्टिकोणबाट सहयोगका लागि नेपाली राजदूतावासले श्रम काउन्सिलर, जनसम्पर्क अधिकृत र घिमिरेका कानूनी प्रतिनिधिसहित प्रहरी प्रशासन र अदालतसँग पटक पटक भेटवार्ता गरी नेपाल फर्कन अनुमति मागेको थियो।
तर, युएईस्थित अध्यागमन कार्यालयले अनुसन्धान नसकिँदासम्म प्रतिबन्ध नहटाउने अडान लिँदै राजदूतावासको अनुरोध अस्वीकार गरेको बताइएको छ ।
सन् २०२४ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म चलेको आममाफी (एम्नेस्टी) अवधिमा समेत राजदूतावासले घिमिरेका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) तयार गर्न पहल गरेको थियो। तर, विद्यमान प्रतिबन्धका कारण उक्त प्रयास पनि असफल भएको जनाइएको छ।
राजदूतावासका अनुसार, यूएई पुगेको केही समयमै घिमिरे सो घटनामा तानिएका थिए। प्रतिबन्धका कारण उनी न रोजगारी गर्न पाएका छन्, न नेपाल फर्कन सकेका छन्। हाल उनी स्थानीय नेपाली समुदायको सहयोगमा कठिन जीवन बिताइरहेको बताइएको छ ।
नेपालमा रहेका उनका परिवारले थानेश्वर निर्दोष रहेको दाबी गर्दै उनको नाम मुद्धामा अन्यायपूर्वक तानिएको बताएका छन्।
उनकी दिदी लक्ष्मी घिमिरेले भाई प्रतिवन्धमा परेदेखि घर परिवार घरमा ठूलो आर्थिक र मानसिक संकटमा परेको बताइन् । उनले भनिन्, ‘हाम्रो घरमा बुबा नभएकाले परिवारको सम्पूर्ण जिम्मेवारी सोही छोरामाथि छ। अहिले उनी विदेशमा अलपत्र परेका छन् । न काम गर्न पाएका छन्, न घर फर्कन। यसले हाम्रो घरमा ठूलो आर्थिक र मानसिक संकट ल्याएको छ।”
लक्ष्मीका अनुसार, यूएईस्थित नेपाली राजदूतावासले सक्दो सहयोग गरे पनि ठोस परिणाम नआएकाले अब नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।
‘हामीले सम्भव सबै निकायमा गुहार गरेका छौं। अब नेपाल सरकारले नै द्रुत अनुसन्धान र कूटनीतिक माध्यमबाट छिटो समाधानको पहल गर्नुपर्छ,’उनले भनिन्।
घिमिरेका परिवारले नेपाल सरकारमार्फत यूएई सरकारसँग समन्वय गरी अनुसन्धान प्रक्रिया छिटो टुंग्याउन र निर्दोष सावित भएमा घिमिरेलाई नेपाल फर्कन अनुमति दिलाउन आग्रह गरेका छन्।
नेपाली राजदूतावासले यूएईको कानुनी सीमाभित्र रहेर सक्दो कन्सुलर सहायता प्रदान गर्दै आएको बताएको छ । यो मुद्दा कूटनीतिक र कानूनी माध्यमबाट समाधान गर्न निरन्तर प्रयास भइरहेको दुताबासले बताएको छ ।
थानेश्वर घिमिरे हाल रोजगारीविहीन अवस्थामा कमजोर स्वास्थ्यसहित कठिन जीवन बाँचिरहेका छन्। उनका परिवारजनले नेपाल र यूएई दुबै सरकारसँग मानवीय आधारमा तत्काल पहल गरी प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गरेका छन्।