आफुमाथि ‘अविश्वास प्रस्ताव’ दर्ता भएपछि मधेशका सभामुखले गरे पाँच सांसदलाई पदमुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । मधेश प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले आफुमाथिमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्। संविधानको धारा १८० बमोजिम प्रदेशसभा सदस्यको पद रिक्त हुने आधारमा टेकेर उनले सांसदलाई पदमुक्त गरेका हुन् ।

संविधानको धारा १८० को उपधारा ‘घ’ अनुसार प्रदेशसभालाई जानकारी नदिई लगातार दश बैठकमा अनुपस्थित बसेमा सदस्यको पद स्वतः रिक्त हुने व्यवस्था छ।

सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेकाले नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन साह कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहिबार पदमुक्त गरिएको सूचना जारी गरेका थिए । सूचनामा उनीहरूको स्थान रिक्त भएको उल्लेख छ।

उक्त प्रावधानअनुसार पद रिक्त भएको जानकारी गराउँदै सभामुख मण्डलले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सूचना सार्वजनिक गरेका थिए ।