मदन भण्डारी फाउण्डेशन र कलेजबीच आर्थिक ‘लेनदेन’को विवाद, विद्यार्थीद्वारा कलेज प्रशासनसँग स्पष्टीकरण माग

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजमा हालै आर्थिक व्यवस्थापनसम्बन्धी उत्पन्न विवादलाई लिएर विद्यार्थीहरूले कलेज प्रशासनसँग औपचारिक रूपमा स्पष्टीकरण माग गरेका छन्। कार्तिक १८ र २५ गते नेपाल न्युजमा प्रकाशित समाचारमा कलेज र फाउण्डेशनबीचको आर्थिक लेनदेनको विषयमा विद्यार्थीहरुले स्पस्टीकरण माग गरेका हुन् ।

विद्यार्थीहरूले कलेज प्रशासनलाई बुझाएको पत्रमा उक्त समाचारमा उठाइएका विषयमा क्याम्पस व्यवस्थापन, क्याम्पस प्रशासन र फाउण्डेशनले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी सत्यता सार्वजनिक गर्न माग गरेका छन्।

उनीहरूले समाचारमा आएका आरोपहरूको खण्डन वा स्पष्ट विवरण बिना कलेज प्रशासन चुप लागेर बस्नु विद्यार्थी हितविपरीत भएको उल्लेख गरेका छन्।

समाचारअनुसार कलेजले फाउण्डेशनलाई करिब १ करोड रुपैयाँ सापटी दिएको र महालेखा परीक्षणले उक्त रकम बिधिसम्मत नभएको भन्दै फिर्ता आदेश दिएको उल्लेख छ ।

तर महालेखाले ताकेता गर्दासमेत फाउण्डेशनले उक्त रकम फिर्ता नगरेको दावी गरिएको छ । त्यस्तै, समाचारमा फाउण्डेशनको भवन प्रयोग गरेबापत ४० लाख बराबर भाडा असुल गर्ने चर्चाको विषयमा उल्लेख छ । दशैँअघि क्याम्पसले फाउण्डेशनलाई १० लाख रुपैँया उपलब्ध गराएको जस्ता बिषय समेट्दै नेपाल न्यूजमा प्रकाशित समाचारका बारेमा बिद्यार्थीहरुले क्याम्पस प्रशासनले प्रस्ट पार्नु पर्ने विद्यार्थीको माग छ ।

क्याम्पस प्रशासन वा व्यवस्थापन समितिमध्ये कसले आर्थिक गडबडी गरेको हो? भन्ने विषयमा स्पष्ट प्रमाण सार्वजनिक गर्न कलेज प्रशासनलाई आग्रह गरिएको क्याम्पसमा अध्ययनरत विद्यार्थी मुकेश प्रसाद जोशीले बताए ।

उनले ३ देखि ५ दिनभित्र पत्रकार सम्मेलन गरी तथ्यगत स्पष्टीकरण नदिएमा आफूहरू आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी दिए ।

हालसम्म कलेज प्रशासन तथा फाउण्डेशन पक्षले नेपाल न्युजमा प्रकाशित समाचारको औपचारिक खण्डन या प्रतिक्रिया नदिएकाले विद्यार्थीहरू अझै थप चिन्तित बनेका छन्। विद्यार्थीहरूले पारदर्शिता, जवाफदेहिता र शैक्षिक वातावरण जोगाउन समयमै सत्यता सार्वजनिक गर्न कलेज प्रशासनसँग माग दोहोर्‍याएका छन्।

सिफारिस