पत्रकार महासंघका पूर्व अध्यक्षहरुद्वारा महासंघलक्षित टिका-टिप्पणीप्रति ध्यानाकर्षण

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्षहरू गोबिन्द आचार्य, विपुल पोखरेल तथा अध्यक्ष पदका पूर्वप्रत्याशी रमेश विष्टले पत्रकार महासंघका विषयमा गरिएका बिभिन्न टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन्। महासंघका वर्तमान अध्यक्ष निर्मला शर्मालाई संयुक्त पत्र पठाई महासंघका बिषयमा ध्यानाकर्षण जनाएका हुन् ।

देश प्रतिनिधि सभा निर्वाचनको तयारीतर्फ अघि बढिरहेको बेला लोकतन्त्रमा देखापरेका चुनौतीका कारण पत्रकार महासंघले स्वच्छ, स्वतन्त्र र निर्भीक वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका छन्।

पत्र मार्फत महासंघको इतिहास, दायित्व र पहिचानका आधारमा समसामयिक परिस्थितिमा सक्षम भूमिकासहित अघि बढ्नुपर्ने अपेक्षा व्यक्त गरिएको छ।

उनीहरूले पत्रकार महासंघ नागरिक समाजको अग्रणी संस्था भएकाले संविधानले प्रदान गरेका अधिकार प्रयोग गर्न सकिने वातावरण बनाउन सम्बद्ध पक्षलाई खबरदारी गर्नुपर्ने बताएका छन्।

यसका लागि महासंघले अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर संविधान, विधिको शासन, लोकतन्त्र, नागरिक अधिकार तथा प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने उल्लेख गरिएको छ।

संगठनभित्र देखा पर्ने समस्या संवाद र विधिसम्मत प्रक्रियाबाट समाधान हुँदै आएको स्मरण गराउँदै उनीहरूले पदेन सल्लाहकार सम्बन्धी टिकाटिप्पणीलाई महासंघको विधानमा भएको व्यवस्था अनुसार हेर्नुपर्ने उल्लेख गरेका छन्।

यस्तै, महासंघका सांगठनिक वा नीतिगत पक्षमा योगदान गर्ने व्यक्तिहरूलाई कदर र सम्मान गर्ने अधिकार केन्द्रीय समितिसँग रहेको भन्दै सबै निर्णय विधानअनुसार लिनुपर्नेमा जोड दिएका छन्।

पत्रमा तीन नेताहरूले पत्रकार महासंघको बृहत् हितका लागि सहयोग, सहभागिता र सक्रियतासहित कार्यसमितिसँग रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

सिफारिस