काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। अध्यक्ष शर्माले महासंघलाई स्वेच्छाचारी, एकलौटी र मनोमानी ढंगले सञ्चालन गरेको आरोप लगाउँदै केन्द्रीय सदस्य लवदेव ढुङ्गानाले सोमबार तालाबन्दी गरेका हुन्।
ढुङ्गानाले महासंघभित्र उत्पन्न भइरहेका पेशागत मुद्दाहरूलाई बेवास्ता गर्दै अध्यक्ष शर्मा सरकारलाई खुशी पार्ने कार्यमा मात्र केन्द्रित रहेको, पदाधिकारी तथा सदस्यहरूले राखेका लिखित तथा मौखिक सुझाव-प्रस्तावहरूमा कुनै सुनुवाइ नगरेको र समस्याहरू समाधान गर्ने इच्छाशक्ति नदेखाएको आरोप लगाएका छन् ।
यसबाहेक, लामो समयदेखि वैदेशिक शाखामा विवाद खडा गरी त्यसलाई विदेश भ्रमणको भर्याङ बनाइरहेको, तर विवाद समाधानका लागि पहल नगरेको आरोप पनि अध्यक्ष शर्मामाथि लगाइएको छ।
ढुङ्गानाले महासंघको विधानअनुसार सचिवालय र सल्लाहकार समिति गठन नगरी संगठनलाई तानाशाही र निरङ्कुश शैलीमा सञ्चालन गरेको दाबी गर्दै यस्तो चरित्रले महासंघलाई प्रतिगमनतर्फ धकेलिएपछि तालाबन्दी गर्न बाध्य भएको बताए।
ढुङ्गानाले अध्यक्ष शर्माले संगठनात्मक र संरचनागत विषयमा संवैधानिक प्रक्रिया अपनाउन तयार नभएसम्म तालाबन्दी जारी रहने बताएका छन् ।
