काठमाडौँ । निर्वाचन आयोगले देशभरबाट ६ लाख २० हजार नयाँ मतदाता नामावलीमा समावेश भएको जनाएको छ। आयोगका अनुसार सोमबार राति ९ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार यो संख्या दर्ता भएको हो।
तीमध्ये ३ लाख ११ हजार ४१४ जनाले आयोगको नियमित सर्वरमार्फत दर्ता गराएका छन् भने ३ लाख ८ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा नाम थपेका छन्।
जेनरेशन–जेडलाई लक्षित गर्दै सरकारले अध्यादेशमार्फत मतदाता नामावली दर्ता खुला गरेपछि दर्ता प्रक्रिया तीव्र भएको आयोगले जनाएको छ।
आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य निरन्तर जारी छ। यसअघि कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाता दर्ता खुला गरिएको थियो। पछि समय थप गर्दै मंसिर ५ गतेसम्म दर्ता गर्ने व्यवस्था मिलाइएको छ।
