काठमाडौं-
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट आइतबार ह्याक भएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको तथ्य पुष्टि गर्दै पुनःस्थापनाको काम जारी रहेको जानकारी दिए।
‘साइट ह्याक भएको छ। अहिले रिकभरी प्रक्रिया चलिरहेको छ। डाटाहरू सुरक्षित रहेको प्रारम्भिक बुझाइ छ,’ काफ्लेले बताए।
ह्याक भएपछि वेबसाइट सामान्य रूपमा सञ्चालनमा छैन। कसले र कहाँबाट वेबसाइट ह्याक गरियो भन्नेबारे अनुसन्धान भइरहेको काफ्लेले बताए।
ह्याक भएको केहीबेरको अन्तरालमा वेबसाइट खोल्दा ‘दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न’ मागसहितको सन्देश देखिएको थियो। हाल उक्त सन्देश हटाइएको छ।
हालै निर्वाचन आयोगले मतदाता नामावली संकलन प्रक्रियामा राष्ट्रिय परिचयपत्रका विवरण समायोजन गरिएको थियो। तर विभागका कर्मचारीहरूले ह्याक भएको साइटमा राष्ट्रिय परिचयपत्रका संवेदनशील विवरणहरू नरहेको स्पष्ट पारेका छन्।
‘यो सामान्य सूचनासम्बन्धी वेबसाइट हो। यहाँ राखिएका साधारण डकुमेन्टहरू सुरक्षित छन्,’ विभागका एक कर्मचारीले बताए।