बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप, उडान रद्द गरि कर्फ्यु आदेश जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बाराको सिमरास्थित सिमरा विमानस्थल क्षेत्र नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपपछि तनावग्रस्त बनेको छ। झडपका क्रममा प्रदर्शनकारीहरूले विमानस्थलको गेट भत्काएका छन्। यस कारण आजका लागि सबै उडानहरू रद्द गरिएको छ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए।

बुधबार नेकपा एमालेले परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो। कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरामा आउँदै थिए।

कार्यक्रमबारे जानकारी पाएपछि बाराका केही युवाले जेनजी प्रदर्शनका लागि आह्वान गरेका थिए। बिहानैदेखि युवाहरू सिमरा क्षेत्रमा जम्मा हुन थालेका थिए।

काठमाडौंबाट आउने पार्टी नेताहरूलाई स्वागत गर्न जाने क्रममा एमालेका नेताहरू र प्रदर्शनकारीबीच वादविवाद भएको थियो। त्यस क्रममा एमालेका एक नेताले बाराको मुख्य बजारमा जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेका थिए। स्थानीयले झडप त्यसैबाट सुरु भएको बताएका छन्।

आक्रोशित युवाहरू विमानस्थल पुगेपछि तोडफोड गर्न थालेको बताइएको छ। झडपपछि काठमाडौंबाट आउने नेताहरू बिमानस्थलमै रोकिएका छन् भने निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साह लगायतका नेता विमानस्थलभित्रै रहेका छन्।

बारामा अहिले कर्फ्यु आदेश जारी गरिएको छ। काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, आजका सबै उडान रद्द गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु लागू गरिएको जानकारी दिए।

झडप एमाले नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेका कारण उत्पन्न भएको बताइएको छ।

सिफारिस