निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२५ पुग्यो, जेन-जी आन्दोलनपछि १७ नयाँ दल थपिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरूले निर्वाचन आयोगमा दर्ता प्रक्रिया तीव्र पारेका छन् ।निर्वाचन आयोगको तथ्यांक अनुसार मंगलबारसम्म आयोगमा दर्ता भएका दलको संख्या १२५ पुगेको छ ।

जेनजी आन्दोलनपछि मात्र १७ नयाँ दल थपिए पछि आयोगमा दर्ता भएका दलहरूको संख्या १२५ पुगेको हो ।

निर्वाचनको मिति घोषणा भएलगत्तै मंगलबारसम्म ९ वटा नयाँ दलले दर्ता प्रमाणपत्र र चुनाव चिह्न प्राप्त गरिसकेको निर्वाचन आयोगले जनाएको छ । तर, ७ वटा पुराना दल खारेज भएको आयोगको भनाई छ । त्यस्तै, २८ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

जेनजी आन्दोलनपछि धेरै नयाँ राजनीतिक समूहहरू दलका रूपमा दर्ता हुँदैछन् । तीमध्ये केहीले आफूले चाहेका चुनाव चिह्न समेत प्रस्ताव गरिसकेका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा अघि बढाइएको ‘उज्यालो नेपाल पार्टी’ छ । घिसिङको नाम औपचारिक रूपमा नरहे पनि, पूर्वसचिव अनुपकुमार उपाध्याय नेतृत्वमा दल दर्ता प्रक्रिया अघि बढाइएको छ । सो दलले ‘बलेको चिम’ चुनाव चिह्न प्रस्ताव गरेको छ ।

त्यसैगरी, राजेश बस्नेत नेतृत्वको ‘राष्ट्रिय परिवर्तन पार्टी’ले बाँसुरी, गोपीलाल न्यौपाने नेतृत्वको ‘नेपाल लिबरल पार्टी’ले सिक्का, र हीराप्रसाद सोती (किरण बिक) दर्ता गरिएको ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ले क्रस खुकुरी चुनाव चिह्न माग गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पहिलोपटक चुनावी प्रक्रियामा सहभागी हुँदै ‘नेपाल कम्युनिष्ट पार्टी माओवादी’ नाममा दल दर्ता गरी गुलाबको फूल चुनाव चिह्न पाएको छ । यससँगै विप्लव समूह औपचारिक रूपमा संसदीय प्रक्रियामा प्रवेश गरेको छ ।

जेनजी आन्दोलनपछि चर्चामा आएका सामाजिक अभियन्ता खगेन्द्र सुनारले ‘हाम्रो पार्टी नेपाल’ नाम दल दर्ता गर्दै ‘गोलो घेराभित्रको लाइक चिन्ह’ माग गरेका छन् ।

योगेन्द्र मण्डलको ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ले चापाकल, ‘सुन्दर नेपाल निर्माण पार्टी’ले फलेको केराको बोट, सविन सिग्देलको ‘प्रगतिशील नागरिक पार्टी’ले बिरुवा, र ‘नागरिक सर्वोच्चता पार्टी’ले मुट्ठीमा धानको बाला वा डोजर माग गरेका छन् ।

धरानका मेयर हर्क साङपाङले पनि ‘श्रम संस्कृति पार्टी’ दर्ता गराउँदै माटोको ढिस्को चिन्ह प्रस्ताव गरेका छन् । यस्तै ‘राष्ट्र निर्माण दल नेपाल’, ‘जनयुग पार्टी’, ‘आवाज पार्टी’लगायत दर्जनौँ दल दर्ता प्रक्रियामा छन् । केही दर्ता प्रक्रियामा रहेका दलमा स्थायी तथा परिचित नेताहरूको संलग्नता देखिए पनि नाम औपचारिक रूपमा सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन नजिकिँदै जाँदा दल दर्ता गर्नेहरूको संख्या अझै बढ्ने अनुमान गरिएको र कानुनी प्रक्रिया पूरा गर्ने दललाई मात्र आधिकारिक रूपमा मान्यता दिने आयोगले स्पष्ट पारेको छ ।