काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा बाहिर आएका समाचारप्रति प्रधानमन्त्री कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सचिवालयमा श्रीमतीसहितका नातेदारलाई जागिर खुवाएको विषय बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले प्रष्टीकरण दिएको हो।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोही अनुरुपको आचरण र व्यवहार गर्दै आएको दाबी गरेका छन्।
राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको रावलले वक्तव्यमा उल्लेख गरेका छन्।
