प्रधानमन्त्रीले भेट्नका लागि समय नदिएको भन्दै मिरज समूहद्वारा सिंहदरबार अगाडि प्रदर्शन

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापनपत्र बुझ्न समय नदिएको भन्दै मिरज ढुंगाना समूहले मंगलबार पनि सिंहदरबार गेटअगाडि प्रदर्शन जारी राखेको छ । सोमबारदेखि निरन्तर आन्दोलन गर्ने निर्णय गरेअनुसार उनीहरूले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

यसअघि सोमबार पनि सिंहदरबार गेटमा पुगेर प्रधानमन्त्रीसँग भेट नपाएपछि उनीहरूले असन्तुष्टि व्यक्त गर्दै मागपत्र गेटमै टाँसेका थिए । गरिखान देउ अभियानका अगुवा हरिष भट्टले मंगलबारको मुख्य उद्देश्य प्रधानमन्त्रीलाई भेट्नु नभई गेटअगाडि विरोध प्रदर्शन गर्नु रहेको बताए ।

सोमबार मिरज समूहसहित अन्य जेनजी अगुवाले ८ बुँदे संयुक्त मागपत्र सिंहदरबारको गेटमा टाँसेका थिए । मागपत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३-२४ का घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने, संविधान संशोधनका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र घोषित निर्वाचन रोक्नुपर्ने माग छन् ।

यसबाहेक सबै दलका नेता तथा पूर्वसांसद-पूर्वमन्त्रीको चलअचल सम्पत्ति रोक्का गर्ने, शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन गर्ने, सरकारी सेवामा दलीय कर्मचारी संगठन स्थायी रूपमा प्रतिबन्ध गर्ने, ‘जेनजी निगरानी आयोग’ गठन गर्ने र शहीद–घाइते परिवारलाई तत्काल रोजगार उपलब्ध गराउने माग पनि मागपत्रमा उल्लेख छ ।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्ना परिवारका सदस्य तथा नातेदारलाई सचिवालयमा नियुक्त गरेको विवरण सार्वजनिक भएपछि मिरज समूहसहित जेनजी अभियन्ता आक्रोशित बनेका हुन् ।

सिफारिस