एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा पार्टी ‘अध्यक्ष’ पदमा उम्मेदवारी घोषणा

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै पार्टी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सोमबार वक्तव्य जारी गर्दै पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन्।

नेता पोखरेलले पार्टीभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र, पारदर्शिता र संगठन पुनर्गठनलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।

पोखरेलले नेपालको लोकतान्त्रिक तथा सामाजिक-आर्थिक रूपान्तरणका क्रममा सहादत प्राप्त सबै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अग्रज नेताहरू पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीलगायतप्रति सम्मान प्रकट गरेका छन्।

नेता पोखरेलले वक्तव्य मार्फत जेनजी आन्दोलनबारे फरक मत समेत राखेका छन् । उनले भदौ २३ र २४ का जेनजी आन्दोलनसम्बन्धी घटनाबारे पोखरेलले फरक धारणा प्रस्तुत गरेका छन्।

भ्रष्टाचारविरुद्ध उठेको युवापुस्ताको आन्दोलनलाई सम्मान गर्दै उनले आन्दोलनकै नाममा भएको घुसपैठ र विध्वंसकारी घटनाको कडा निन्दा गरेका छन्। उनले सो घटनामा निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन्।

विघटित प्रतिनिधिसभासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पोखरेलले संविधानलाई “लिकमा ल्याउनुपर्ने” आवश्यकता औंल्याएका छन् । विज्ञप्ती मार्फत उनले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

एमाले महाधिवेशन नीतिगत अद्यावधिक आवश्यक:
आगामी महाधिवेशन असाधारण परिस्थितिमा हुन लागेको भन्दै पोखरेलले भदौ २२ अघि र पछिको राजनीतिक परिदृश्यबीच ठूलो अन्तर आएको टिप्पणी गरे। उनले विधान महाधिवेशनमा बनेका कतिपय निष्कर्षहरू नयाँ सन्दर्भअनुसार अद्यावधिक गर्नुपर्ने आवश्यकता उठाए।

पार्टीले माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई सृजनात्मक रूपमा कार्यान्वयन गर्दै नयाँ चुनौतीका लागि संगठन पुनर्गठन तथा योग्य नेतृत्व निर्माण गर्नुपर्ने उनका् धारणा छ।

वक्तव्यमार्फत नेता पोखरेलले पार्टी सुधारका लागि आधारअघि सारेका छन् ।

१.पार्टीभित्र नेतृत्व विकास तथा प्रतिस्पर्धालाई संस्थागत गर्ने

२. पारदर्शी उम्मेदवार चयन प्रक्रिया

३. समानुपातिक उम्मेदवारमा वर्गीय पक्षधरता, विषय विज्ञता र स्वच्छ छविलाई प्राथमिकता

४. लेखा प्रणाली पारदर्शी बनाउँदै केन्द्र तथा प्रदेशमा लेखा आयोग गठन

५. जनसंगठनलाई ‘नीतिमा आबद्धता, संगठनमा स्वायत्तता’ को सिद्धान्तअनुसार संचालन

६. महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु, अपाङ्गता क्षेत्र र नवयुवाको सम्मानजनक प्रतिनिधित्व

७. पार्टीका आयोगहरूलाई स्वायत्तता प्रदान गर्दै निर्णयको अनिवार्य कार्यान्वयन सुनिश्चित

८. विद्यादेवी भण्डारीको पुनः सक्रियता–समर्थन

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यताबाट बञ्चित गरिएको घटनाले संगठनमा असर पारेको बताउँदै पोखरेलले उनलाई पुनः पार्टी काममा फर्कने वातावरण बनाउनुपर्ने बताएका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले “आन्तरिक लोकतन्त्रका मापदण्डअनुसार” नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरेका छन् । उनले आफू सामूहिक नेतृत्व, योग्यता–आधारित जिम्मेवारी र पारदर्शी निर्णय प्रक्रियामा प्रतिबद्ध रहेको बताए।

साथै मंसिर १३ गते देश तथा प्रवासमा हुने महाधिवेशन प्रतिनिधि चयनमा पार्टी सदस्यहरूले विवेकपूर्ण, मर्यादित र निर्भय सहभागिता जनाउन पोखरेलले आग्रह गरेका छन्।

उनले नजिकै महाधिवेशनमा प्रस्तुत गर्ने विस्तारित राजनीतिक तथा सांगठनिक दृष्टिकोण चाँडै सार्वजनिक गर्ने घोषणा पनि गरेका छन्।